Wednesday, November 6, 2024

अलपत्र नेपालीलाई स्वदेश ल्याउने गृहकार्य सुरु

काठमाडौ, जेठ ६ (हाकाहाकी)– कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।

विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टिइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न समितिको बैठक सिंहदरबारमा बसेको छ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिका सचिव समेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताउनुभएको छ ।

समितिको बैठकमा सात वटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताइएको छ ।

क्वारेन्टिनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्यांक राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको सचिव विडारीले बताउनुभयो ।

यस्तै क्वारेन्टिनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।

ताजा समाचार

सम्बन्धित समाचार