काठमाडौ, जेठ ६ (हाकाहाकी)– काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न सरकारसँग आग्रह गरेको छ ।
महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ काठमाडौँ महानगरका प्रवक्ता समेत रहेका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले भने ।
उनले काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि उपत्यका भित्र प्रवेश गर्नुपर्ने भए उसलाई प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिनुभयो ।
महानगरले त्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै उनीहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नाम सहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकालाईसम्वन्धित कार्यालयलाई उपलब्ध गराउन भनेको छ ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने लगायतको निर्णय पनि बैठकले गरेको छ ।