काठमाडौ, जेठ ५ (हाकाहाकी)– काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ ।
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो ।
त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको छ ।
प्रमुख शाक्यले ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलबासीमा कोरोना संक्रमण भए÷नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको बताउनुभएको छ ।
उहाँले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिनुभयो । सहमतिअनुसार बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भएको प्रमुख शाक्यले बताउनुभएको छ ।
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले पनि फोहोर विसर्जनको समस्या तत्कालका लागि हटेको पनि जानकारी दिनुभयो ।