काठमाडौ, जेठ ३ (हाकाहाकी)–काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ८ पुगेको छ ।
शनिबार अपराह्नसम्मको तथ्यांक अनुसार उपत्यका बाहिरका विभिन्न जिल्लामा घर भई काठमाडौंमा बसोबास गर्ने ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान १० बजे विज्ञप्तिमार्फत सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा उल्लेख सर्लाही रामनगरकी १८ वर्षीया युवती पनि काठमाडौंकै बासिन्दा भएको खुलेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार संक्रमित युवतीसहित उहाँको परिवार लामो समयदेखि काठमाडौं बसिरहेको पाइएको हो ।
ती युवतीसमेत मंगलबारयता अहिलेसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने ८ व्यक्ति संक्रमित प्रमाणित भएका हुन् ।
तिनमा काठमाडौं सतुंगल (चन्द्रागिरि नगरपालिका) बस्ने ७ वर्षका बालक, काठमाडौंकै एक अस्पतालमा कार्यरत दाङ तुलसीपुर घर भएका ३४ वर्षीय पुरुष, काठमाडौं दहचोक (चन्द्रागिरि नगरपालिका) बस्ने ७ वर्षका बालक र चन्द्रागिरि बस्ने ३२ वर्षीय पुरुष छन्।
त्यस्तै चन्द्रागिरि नै बस्ने ३३ वर्षीया महिला तथा भक्तपुर बस्ने २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् । यी संक्रमित सबै बाहिरी जिल्लाका तर काठमाडौंमा बस्ने बासिन्दा हुन् ।
अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन् ।
देशव्यापी लकडाउन सुरु भएपछि उपत्यकाबाट बाहिरिएकाहरू फेरि धमाधम यतै फर्किन थालेपछि यहाँ फेरि संक्रमण बढ्दै गएको हो । यसैकारण सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउन कडा पारिएकोे छ ।
चार संक्रमित फेला परेको चन्द्रागिरि नगरपालिकाले, आजदेखि जेठ ७ गतेसम्मलाई घरबाट समेत निस्कन नपाउने गरी आफ्नो क्षेत्र सिल नै गरेको छ ।