काठमाडौ, जेठ ३ (हाकाहाकी)– कोभिड–१९ संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रवलीकरणले पुनःगति लिएको छ ।
अहिले सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको र बाँकी तीन मोहडामा प्रवलीकरणको मुख्य काम सम्पन्न भई टायलरमार्बल एवं रङरोगनको काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
सिंहदरबार प्रवलीकरणको कार्यान्वयन हेर्ने प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रवलीकरणलाई अघि बढाइएको बताउनुभयो ।
निर्माण कम्पनीले निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ ।
निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ ।
चार वटा मोहडाको प्रवलीकरणमा हाल ११९ कामदारले काम गरिरहेका छन् । कामदारलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको छ ।