Thursday, November 7, 2024

गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गरिने

काठमाडौ, जेठ २ (हाकाहाकी)–जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेकोले प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रलायको निर्देशनअनुसार, आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताउनुभयो ।

यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो । प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ ।

प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

तर एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार