Thursday, November 7, 2024

देशभर सरुवा रोग अस्पताल निर्माण गरिने

काठमाडौ, जेठ २ (हाकाहाकी)– सरकारले केन्द्रमा तीनसय शैंया र सातवटै प्रदेशमा ५० शैंयाको प्रयोगशाला परीक्षण सहितको अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा देशैभरको स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउने नीति स्वरूप सरुवा रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले यो कार्यक्रम ल्याएको हो ।

देशैभरका स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।

त्यस्तै प्रदेश मातहत रहेका साविकका जिल्ला अस्पताललाई २५ देखि ५० शय्याको आधुनिक अस्पतालका रूपमा स्तरोन्‍नती गरिने भएको छ ।

हाल रहेका अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गरिने छ । पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरामा रहेका अस्पताललाई ५०० शय्याको विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यस्तै गरीब र असहायहरूलाई निःशुल्क सेवा उपलब्ध गराइने सरकारले योजना रहेको छ ।

मुलुकभरमा ६७१ स्थानीय तहका वडामा पूर्ण खोप सेवा उपलब्ध घोषणा भएको र बाँकी तहका वडामा पूर्ण खोप सेवा पुर्‍याउने सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका दुई हजार ६२६ वडाहरुमा स्वास्थ्यका पूर्वाधार निर्माण गर्दै सेवा विस्तार गर्ने सरकारको योजना छ।

सरकारले स्वास्थ्य सेवालाई आगामी वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रको पुनःसंरचना गर्दै गुणस्तरीय सेवा, जनशक्ति लगायत आवश्यक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार