Thursday, November 7, 2024

काठमाडौ उत्तरपूर्वका नगरपालिकाद्धारा नाकामा थप कडाई

काठमाडौ, जेठ १ (हाकाहाकी)– कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् ।

यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ । यो मार्गबाट सवारी लिएर जान पूर्वाधार नभए पनि पैदल हिँड्ने मानिस हुन्छन् ।

नगर प्रमुख उद्धवप्रसाद खरेल यस नाकाबाट आउन निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले नै कडाइ गरेको जानकारी दिनुभयो । नाकाबाट रातारात तराईबाट आउनेका कारण नगरवासीमा त्रास फैलिएको उहाँले बताउनुभयो । गोकर्णेश्वरबाट पनि निकुञ्जकै बाटो हुँदै सिन्धुपाल्चोक र नुवाकोट जाने बाटो छ ।

गोकर्णेश्वरबाट भने दुवै जिल्ला जाने सडकसमेत रहेकाले नेपाली सेनाले नै आवतजावतमा कडा गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको निकुञ्ज क्षेत्रबाट पनि दुवै जिल्लाका मानिस हिँडेर आउन सक्ने बाटो छ । यो बाटोमा पनि सेनाले नै कडाइ गर्न लागेको छ ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छिर्ने दुई नाका भएको शङ्खरापुर नगरपालिकाले दुवैतिर कडाइ गरेको छ ।

नगरपालिकाको वडा नं ३ जहरसिंह पौवामा आज बिहानैदेखि युवा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले संयुक्तरुपमा हिँडेर आउने मानिसलाई रोक लगाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार