काठमाडौ, जेठ १ (हाकाहाकी)– सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ ।
कोरोना भाइरसको समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाई १० बुँदे निर्देशन दिँदै सीमामा अलपत्र परेका नागरिकलाई सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गरी आ–आफ्नो घर पठाउने व्यवस्था मिलाउन भनिएको सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।
समितिले विदेशमा रहेका मजदुर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेशनसहित आवश्यक व्यवस्था गर्न तथा विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नेसमेत निर्देशन दिएको छ ।
सभापति घर्तीले मन्त्री ढकाललाई कोभिड–१९को सङ्क्रमणको जोखिम तीव्ररुपमा बढिरहेकाले स्वास्थ्य परिक्षणको दायरा तीब्र बनाउनसमेत निर्देशन दिइएको जानकारी दिनुभयो ।
समितिको आज बसेको बैठकले मन्त्री ढकाललाई बोलाइ कोभिड–१९ को परीक्षणको दायरा बढाउन निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीलाई अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र प्रदेश सरकार, स्थानीय तहलाई स्वास्थ्य सामग्री यथाशीघ्र उपलव्ध गराउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।
यसैगरी समितिले कोरोना भाइरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित बनाउनसमेत निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
छलफलमा मन्त्री ढकालले कोभिड–१९ को परीक्षणको दायरालाई बढाइरहेको बताउनुभयो ।