काठमाडौ, जेठ १ (हाकाहाकी)– नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ ।
महासङ्घ स्थायी समितिको आजको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण आयोजना सञ्चालन गर्न नसकिने उल्लेख छ ।
महासङ्घले २०७६ चैत्रदेखि २०७७ कात्तिकसम्म निर्माण हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।
व्यवसायीले बन्दाबन्दीको असहज परिस्थितिबीच पनि केही निर्माणस्थलमा सीमित जनशक्ति, निर्माण सामग्री र उपकरण पु¥याएको महासङ्घले जनाएको छ ।
थप जनशक्ति र उपकरण पु¥याउने तयारीमा रहेको अवस्थामा असहज आवागमनका कारण आयोजनाका निर्माणले निरन्तरता पाउन नसक्ने महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
जटिल परिस्थितिबीच त्यस्ता आयोजनालाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्यधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाको काम हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि पनि महासङ्घले अनुरोध गरेको छ ।
निर्माण सामग्री सप्लायर्स बन्द हुने, नेपालमा प्रयोग हुने अधिकांश निर्माण समाग्री (ढुङ्गागिट्टी, बालुवा, सिमेन्ट बाहेक) का कच्चा पदार्थ भारत, चीन लगायतका अन्य देशबाट आयात हुने गरेको हुँदा आयात गर्ने उपयुक्त वातावरण नबनेसम्म विकास निर्माणका काम गर्न नसकिने पनि महासङ्घको भनाइ छ ।