काठमाडौ, जेठ १ (हाकाहाकी)– उपत्यका भित्र र बाहिरका जिल्लामा गरी बिहीबार थप ६ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौको चन्द्रागिरी र दहचोकमा १/१ जना, कपिलवस्तुबाट आएर शिक्षण अस्पतालमा उपचाररत १ जना, नवलपरासी पूर्वको देवचुलीमा १ जना, धनुषा र धादिङमा १÷१ जना छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयले आउँने दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको बताउनुभयो ।
उहाँले अहिले देशका ९ वटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको जानकारी दिनुभयो ।
परीक्षण गर्ने ‘आरडीटी’ र ‘पीसीआर किट’हरु अभाव नभएका कारण परीक्षणको दायरा बढाउँदै लैजाने भन्दै डा. देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको बताउनुभयो ।
छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिनुभयो । उहाँहरुले जनघनत्व बढी रहेको स्थानमा परीक्षण बढाउनुपर्ने र एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसद गगन थापा र जीवनराम श्रेष्ठले असारसम्म करिब पाँच लाख व्यक्तिको परीक्षण गरिसक्ने गरी तयारी गर्न मन्त्रालयलाई सुझाव दिनुभयो ।
बजेटमा जिल्ला अस्पतालहरुलाई सुधार गरी ५० ‘बेड’सम्मको अस्पताल बनाउन र प्रत्येक अस्पतालमा सरुवारोग परीक्षण ‘युनिट’ राख्नसमेत सांसदहरुले सुझाव दिएका थिए ।
साथै, उपचारमा प्रयोग गरिने ‘पीपीई’ सामग्रीको उत्पादन नेपालमा नै गराउनसमेत आग्रह गरेको छ ।