काठमाडौ, बैशाख ३१— चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।
चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ ।
ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मल गनलगायत रहेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिनुभयो ।
चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।