काठमाडौ, बैशाख ३१ (हाकाहाकी)— जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सवै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्री परिषदको बैशाख २४ गते बसेको बैठकको निर्णय नं ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले एम्बुलेन्स, शव बहान, मृत्यु सस्कार, बिद्युत, संचार, खानेपानी, औषधी र इन्धन बाहेक अन्य सवै प्रकारका सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको बताउनुभएको छ ।
त्यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु जस्तै इन्धन, दाल, चामल, दुधडेरी, तरकारी तथा फलफुल पसलहरुबिहान ११बजेदेखि १ बजेसम्म मात्र बिक्री वितरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनुभएको छ ।