काठमाडौ, बैशाख २८ (हाकाहाकी)–कोरोना भाइरसको संक्रमणबाट अमेरिकी राज्य न्युयोर्कमा ३ बालबालिकाको मृत्यु भएको छ।
तर यी बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्। डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ ।
जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने समस्या देखिन्छ। साथै स्वाद र बासना थाहा नपाउनु पनि कोरोनाको लक्षण हो।
न्युयोर्कमा मृत्यु भएका कोरोना संक्रमित बालबालिकामा भने कोरोना भाइरसका नयाँ लक्षणहरु देखिएका छन्। उनीहरुमा लगातार ज्वरो आउने, झट्ट ज्वरो आउने र नाक, मुख, घाँटी, मुटुमा असर परेको देखिएको छ।
उनीहरुमा सुख्खा ओठ, आँखा रातो हुने, हात तथा खुट्टा सुन्निने समस्या पनि देखिएको बताइएको छ। न्युयोर्कमा अहिलेसम्म यो नयाँ संकेत अन्य ७३ बिरामी बालबालिकामा पनि देखिएको न्युयोर्कटाइम्सले जनाएको छ। केहीहप्ता अगाडिमात्र कोरोना भाइरसको यो नयाँ लक्षणहरु अमेरिकी डाक्टरले पत्ता लगाएको थियो । चिकित्सकहरुले नयाँ लक्षणहरु देखिएमा सजग रहन आग्रह गरेको बिबिसिले जनाएको छ ।