काठमाडौ, बैशाख २४ (हाकाहाकी)– भारतले भोलिदेखि ६४ उडानमार्फत करिब १५ हजार भारतीयलाई हवाइ उद्धार (एयरलिफ्ट) गर्ने भएको छ ।
विभिन्न १२ मुलुकमा अलपत्र परेका आफ्ना नागरिकलाई हवाइ उद्धार गर्ने तयारी भएको हो ।
भारतका विदेशमन्त्री एस जयशंकरले ‘वन्दे भारत मिसन’अन्तर्गत नागरिकको उद्धार गर्न लागिएको र यो क्रम १ हप्तासम्म चल्ने बताउनुभएको द टाइम्स अफ इन्डियाले जनाएको छ ।
उहाँले आफ्नो ट्वीटरमा भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गर्नुभएको छ ।
खाडी मुलुकबाहेक सेड्युलमा नरहेका व्यावसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, बंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी छ ।
नागरिक उड्डयनमन्त्री हरदीप पुरीले सबै गरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको बताउनुभएको समाचारमा उल्लेख छ।
यो संख्या ४ लाखसम्म पुग्नसक्ने पनि बताइएको छ ।