ट्रम्पद्धारा ह्वाइट हाउस कोरोना टास्क फोर्स बन्द गर्ने तयारी

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी रहेको बताउनुभएको हो ।

एरिजोनामा रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने बताउनुभएको द न्यू वर्क टाइम्स को समाचारमा उल्लेख छ ।

अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ । यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ ।

तर राष्ट्रपति ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताउनुभएको हो ।

तर विपक्षी दलहरुले भने व्यवसाय खुला गर्न हतारो गरेर राष्ट्रपति ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् ।

उहाँले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको भएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार