Thursday, November 7, 2024

बुधबार थप १७ जनामा कोरोना, संक्रमित ९९ पुगे

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– पर्साको विरगञ्जमा बुधबार मात्र थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १७ जना संक्रमित एउटै वडामा बस्ने आफन्तहरु हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकैदिन संक्रमण देखिएका १७ जनामध्ये एक जना दुई महिनाको शिशु भएको जानकारी दिनुभएको छ ।

यसअघि नेपालगञ्जमा सात वर्षे बालकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । बुधबार देखिएको संक्रमणमा दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका व्यक्तिहरु छन ्। ती मध्ये ७ जना महिला र १०जना पुरुष छन ्।

प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, वागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित भेटिएका छन । अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित देखिएका छैनन् ।

यसैबीच, ११ बैशाखमा डिस्चार्ज भएका ५८ वर्षीय पुरुषमा संक्रमण फेरी देखिएपछि पाटन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक र वीरगञ्जका एक जनामा पनि फेरी नमूना परीक्षण पोजिटिभ देखिएपछि अहिले नारायणी अस्पतालमा राखिएको छ ।
कोशी अञ्चल अस्पतालमा रहेका ६ जना संक्रमित आज डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशैभर पीसीआर विधिबाट १४ हजार ९६ जनाको परिक्षण गरिएको छ । र, आरडीटी किट विधिबाट ५२ हजार ९७० जनाको परीक्षण गरिएको छ । बुधबारसम्म देशभर आइसोलेसनमा १३६ जना छन् ।

ताजा समाचार

सम्बन्धित समाचार