काठमाडौ, बैशाख २३ (हाकाहाकी)– नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज बुधबार अष्ट्रेलिया जाने भएको छ ।
अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लैजान लागेको हो। २ सय ६४ अष्ट्रेलियन नागरिक लिएर दिउँसो साढे १ बजे जाने, नेपाल वायु सेवा निगमको प्रवक्ता अर्चना खडकाले बताउनुभयो ।
उहाँका अनुसार जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने छ । जहाज मलेसिया ट्रान्जिट भएर जानेछ । फर्कदा नेपाल सिधा उडान भर्नेछ । निगमको अर्को वाइडबडी जहाज फेरि स्वास्थ्य सामग्री लिन चीन जाने छ । प्रवक्ता खड्काका अनुसार साढे ५ बजे जहाज बेइजिङ जाने भएको हो । निजि क्षेत्रको स्वास्थ्य सामग्री लिन जान लागेको हो । त्यसैगरी, जेठ १२ गते फेरी जहाज नेपाली कामदार लिएर कोरिया जाने उहाँले जानकारी दिनुभयो ।