काठमाडौ, बैशाख २३ (हाकाहाकी)– कोभिड–१९ को जोखिमलाई ध्यान दिँदैै खाद्य भण्डारण एवं विपद् व्यवस्थापन शुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा संयुक्त सुरक्षा फौजले खाद्य भण्डारण एवं विपद् व्यवस्थापनको कार्य शुरु गरेका हुन् ।
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा आउन सक्ने सङ्कटलाई ध्यान दिँदै मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको दुर्गाप्रसाद न्यौपानेको प्रयोगविहीन १७ तले भवनमा खाद्यान्न भण्डारणलगायतको तयारी गरिएको छ ।
जिल्लाका चारवटै नगरपालिकामा वितरण गर्ने गरी ती नगरपालिकाको सहयोगमा त्यस भवनमा नेपाली सेनाको सुरक्षामा खाद्यान्न भण्डारणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले जानकारी दिनुभयो ।
पानी, खाना वितरणलगायतका सामग्री भण्डारण शुरु गरिएको जानकारी दिँदै उहाँले बजारमा खाद्यान्न अभाव हुने अवस्था आएमा स्थानीय तहको सहयोगमा भवनमा खाद्यान्न भण्डारण गरिने गरी तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजको मातहतमा राखेर सङ्कटमा वितरण गर्ने योजनाअनुसार नै खाद्यान्न भण्डारणको तयारी गरिएको हो ।
सेनाको वीरदल गण सूर्य्विनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको स्टोरमा सुरक्षा दिइरहेका छ ।