काठमाडौ, बैशाख २३ (हाकाहाकी)–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आउने वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ ।
विभागले यअसघि वर्षात् , हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ ।
समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनको भनाइ थियो ।
उहाँले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकामा सन्तोष व्यक्त गर्दै आउने दिनमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिँचाइ सचिव रवीन्द्रकुमार श्रेष्ठले कोभिड–१९रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताउनुभयो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताउनुभएको छ ।