काठमाडौ, बैशाख २३ (हाकाहाकी)– मौसम प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
साथै तत्काल अहिलेको मौसमी प्रणाली हट्ने सम्भावना नरहेको पनि मौसमविद् कँडेलले बताउनुभयो ।
नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो ।
राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
भोलि देशभर बिहानीपख आंशिक बदली र दिउँसोपश्चात् सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानका साथै पूर्वी र मध्य तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।