काठमाडौ, बैशाख २३ (हाकाहाकी)– संयुक्त राष्ट्र संघ (युएन) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग कोरोना नियन्त्रणसम्बन्धि छलफल गरेका छन् ।
भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा. जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिनुभएको छ ।
सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयका उपसचिव मनोज कुमार आचार्यले बताउनुभयो ।
भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टिनमा रहेकाहरुको अवस्था र लकडाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिएका उपसचिव आचार्यले बताउनुभएको छ । आचार्यका अनुसार भेटमा उहाँहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिनुभएको छ ।