Thursday, November 7, 2024

पिसिआर विधिबाट हालसम्म करिब १४ हजारको मात्र नमूना परीक्षण, बाँकी आरडिटी

काठमाडौ, बैशाख २३ (हाकाहाकी)– चिकित्सक तथा विज्ञहरुले कोरोनाको नूमना परीक्षण पिसिआर विधिबाट गर्न सरकारलाई बारम्बार सुझाव दिइरहेको भएतापनि सरकारले अहिले १३ हजार ८ सय ५० जनामा मात्र यो विधिबाट परीक्षण गरेको छ ।

जबकी कम विश्वासिलो मानिएको आरडिटी विधिबाट भएको परीक्षणको संख्या ५२ हजार २ सय २७ छ ।

यी दुवै विधि गरी सरकारले हालसम्म ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिनुभएको हो ।

मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । देशभर कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् ।

प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा सङ्क्रमण देखिएको छ । रुपन्देहीमा एक, नेपालगन्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ ।

सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सम्भावित सङ्क्रमितको सङ्ख्या १२० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर ११८ जना आइसोलेसनमा छन् । मुलुकभर क्वारेन्टिनमा बस्नेको सङ्ख्या २१ हजार ९९ पुगेको छ ।

यसैबीच, नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार