Friday, November 8, 2024

बैदेशिक रोजगारमा गएकालाई प्राथमिकताका आधारमा स्वेदश फर्काइने

काठमाडौ, बैशाख २० (हाकाहाकी)– सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरिरहेको छ ।
श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताउनुभयो ।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उहाँको भनाइ छ ।

विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताउनुभएको छ ।

यो परिस्थितिमा आपत्मा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनौतीपूर्ण रहेको भन्दै उहाँले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उहाँले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताउनुभयो ।

विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उहाँले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार