काठमाडौ, बैशाख २१ (हाकाहाकी)– भारतमा बन्दाबन्दी लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् ।
अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा जानकारी गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभयो ।
भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । अब भारतमा समस्यामा परेका नेपालीहरुलाई नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने वैठकको निष्कर्ष रहेको छ ।