काठमाडौ, बैशाख १९ (हाकाहाकी)—लकडाउनको बिरुद्दमा अमेरिकामा प्रदर्शन भएको छ
बन्दुक बोकेका केही प्रदर्शनकारीहरू मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्या्टिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् ।
त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए ।
ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।
मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।
प्लेकार्ड सहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।
यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।