काठमाडौं, बैशाख १३ (हाकाहाकी)– गएको चैत २६ गतेदेखि तातोपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।
तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।
तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार अहिलेसम्म एन–९५, पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ ।
त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ ।
एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।
चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो ।
नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो ।