काठमाडौ, बैशाख १३ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो रोगको संक्रमण देखिएको बताएको छ । देशका विभिन्न ठाउँमा क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको मन्त्रालयले जनाएको हो ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
कुन ठाउँको क्वारेन्टिनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन ।
प्रवक्ता डा. देवकोटाले क्वारेन्टिनस्थल व्यवस्थित बनाउन आग्रह समेत गर्नुभएको छ ।
यसैबीच, मन्त्रालयले अहिलेसम्म नेपालमा थप कोरोना संक्रमित फेला नपरेको जनाएको छ ।
प्रवक्ता डा. देवकोटाले नेपालमा कोरोना पोजेटिभ कुल संक्रमितको संख्या ४९ कायम रहेको र थप संक्रमित फेला नपरेको जानकारी दिनुभएको छ ।
सङ्क्रमित सबैको स्वास्थ्यस्थिति सामान्य रहेको पनि उहाँले बताउनुभयो ।
यसैबीच, प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या पनि बढ्दो नै छ ।
शनिबार भरतपुर अस्पतालमा उपचारको क्रममा रहेका २७ बर्षीया पुरुषको दुई पटक पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ पुगेको हो ।
शनिबारसम्म देशभर १४ हजार ७ सय ३१ क्वारेन्टाइनमा रहेका छन् ।
बाग्मती प्रदेशमा सबैभन्दा थोरै एक सय ३१ जना र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।