काठमाडौ, बैशाख १३ (हाकाहाकी)–कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान आउने जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ अर्थात मे १५ सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्ने निर्णय गरेको हो ।
सचिव बिडारीले लकडाउनको अवधि बढाउने वा नबढाउने निर्णय भने मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिनुभएको छ ।
बैठकमा लकडाउनकै कारण कोरोना नियन्त्रण सम्भव भएको निचोड निकालेको जनाउँदै बिडारीले स्थिति नियन्त्रण बाहिर जान नदिन अन्य उपाय पनि अपनाइने उल्लेख गर्नुभयो ।
लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने विषयमा केही निर्णय नभएको उहाँले बताउनुभएको छ ।
प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समीक्षा भएको छ ।
सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको पनि बताउनुभयो ।