काठमाडौ, बैशाख १३ (हाकाहाकी)– विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट नेपाली फुटबलको निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ लाख अमेरिकी डलर पाउने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उदेश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो ।
फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
फिफाले राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कुल १ सय ५० विलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरिने जनाएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा सर्वा्धिक धेरै प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताउनुभएको छ ।
कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटबल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले जनाएको छ ।
फिफाबाट आएको आर्थिक रकम सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ ।
कोरोनाको कारण नेपालमा चलिरहेको बी डिभिजन लिग स्थगित गरिएको छ । यस्तै सी डिभिजन र महिला लिग समेत तत्काल नहुने भएको छ ।
यस्तै मोफसलको सम्पूर्ण प्रतियोगिता समेत स्थगित भएको छ ।