काठमाडौ, बैशाख १२ (हाकाहाकी)– बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई नौ करोड ९३ लाख निकासा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई २० लाख निकासा गरिएको छ ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई तीन करोड ७७ लाख, हेटौँडा अस्पताललाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख, धादिङ अस्पताललाई ३१ लाख, त्रिशूली र सिन्धुली अस्पताललाई पनि ३१÷३१ लाख निकासा गरेको हो ।
त्यसैगरी स्वास्थ्य निर्देशनालयलाई र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई २२÷२२ लाख, चौतारा अस्पताललाई २१ लाख गरी कूल नौ करोड ९३ लाख निकासा गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभएको छ ।