काठमाडौ, बैशाख ७ (हाकाहाकी)– जनकपुरधाम उपमहानगरपालिका–५, मा रूपैयाँ छरेर कोरोना भाइरस सक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ आएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार शनिबार तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आइतबार ती महिलाको घाँटीको स्वाबलाई पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने शनिबारै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
यही वैशाख ५ गते जनकपुरको महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी हिजो प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो ।