काठमाडौ, बैशाख ७ (हाकाहाकी)– सेती अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित युवक निको भएपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
उहाँको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिनुभयो ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उहाँको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अस्पतालले घर पठाएको जनाइएको छ ।
तर घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न अस्पतालले उहाँलाइ आग्रह गरेको छ । भारतबाट चैत ११ गते घर फर्किएका उहाँलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् ।