हाकाहाकी संवाददाता – काठमाडौ, बैशाख ७– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. शेरबहादुर पुनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै ‘कोभिड–१९ कार्यक्रममा सहयोग पु¥याउने कामका लागि मन्त्रालय उपस्थित हुने’ व्यहोराको पत्र प्राप्त भएको बताएका छन् ।
उनले पत्रको व्यहोरा अनुसार आफु आइतबार मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीसँग सम्पर्क गरिसकेको जानकारी पनि दिएका छन् । ‘यसलाई मैले आफ्नो वृत्ति जिवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियासिल रहिरहेको छु’, विज्ञप्तिमा उल्लेख छ ।
डा. पुनले मन्त्री र मन्त्रालयसँग जोडेर अर्नगल प्रचार नगर्न र कोभिड १९ को मारबाट मुलुकलाई बचाउन एकतावद्ध भइदिन अपिल पनि गरेका छन् ।
डा. पुनको नाममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अस्पताल प्रशासनलाई पठाएको स्पष्टिकरण र त्यसमा उल्लेख व्यहोरालाई लिएर शनिबार सामाजिक सञ्जालहरुमा दिनभर आलोचना भएको थियो ।
कोभिड १९ महामारीको बेलामा पनि यसै क्षेत्रका विशेयज्ञलाई स्पष्टिकरण सोधेर चिकित्सकलाई हतोत्साहित पारिएको भन्दै स्वास्थ्य मन्त्री र मन्त्रालयको चौतर्फी आलोचना भएको थियो । यता मन्त्रालयले पनि डा. पुनलाई स्पष्टिकरण नसोधिएको र कामको सिलसिलामा बोलाइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।