बैशाख ६ (हाकाहाकी)– कोरोना भाइरसका कारण खाद्यान्नको समस्या भोगिरहेका ३ आश्रमलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत प्रदान गरेको छ ।
एनटीएको पहलमा मुलपानीको बाल आश्रम, सुन्दरीजलको चेपाङ आश्रम र गागलफेदीको श्री ज्येष्ठ नागरिक सेवा केन्द्रलाई राहत प्रदान गरिएको हो ।
बाल आश्रममा ४०, चेपाङ आश्रममा २९ र केन्द्रमा ९ जना आश्रित छन् ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले बताउनुभएको छ ।
आश्रमलाई दाल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, आलु, तेल र ह्यान्ड सोप प्रदान गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यसअघि एनटीएले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न ७ वडाका ८०, ललितपुर महानगरपालिकाका ४ र गोकर्णेश्वर नगरपालिका १ मा गरी ८५ परिवारलाई राहत वितरण गरेको थियो ।