बैशाख ६ (हाकाहाकी)– कोरोना संक्रमणका कारण बेलायतमा हिजोसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन् ।
त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएको जानकारी दूतावासको जानकारीमा आएको बताइएको छ।
अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेका ७ जना तथा संक्रमणको आशंका भएपछि घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले बताउनुभएको छ।
दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।
बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ नेपाली दूतावास, एनआरएनए यूके, बन्टोक नेपाली समाज लगायत सामाजिक संघसंस्थाले काम गरिरहेका छन्।