बैशाख ६ (हाकाहाकी)– नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाण्डौ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ ।
भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नागरिकले अटेर गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ ।
महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ ।
यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको बताउनु भएको छ ।
पसलमा हुने भीड कम गर्नकै लागि महानगरले विभिन्न ११ स्थानमा तरकारी पसल सञ्चालनको अनुमति दिएको छ भने खाद्य सामग्रीका पसललाई पनि बिहान ८ बजेसम्म खोल्न भनेको छ ।
महानगरको बाहिरी क्षेत्रमा लकडाउनको राम्रोसँग पालन भए पनि भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, क्षेत्रपाटी, शोभा भगवतीलगायतका स्थानमा नागरिकले लकडाउनको उल्लंघन गरिरहेको जनाइएको छ ।
यी स्थानमा नै अब कडा निगरानी गर्ने तयारी गरिएको छ ।