बैशाख ६ (हाकाहाकी)–उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएपछि त्यस गाउँका सबैको कोरोना परीक्षण हुने भएको छ ।
अहिले सिंगो गाउँ नै सुरक्षा घेरामा राखिएको छ । मस्जिदसँगै त्यहाँ करिब ५० घर मुस्लिम समुदायको छ । गाउँका सबै मानिसको स्वाब निकालेर कोरोना भाइरस परीक्षण गरिने तयारी भइरहेको छ ।
प्रहरीले अहिले गाउँलाई सुरक्षा घेराभित्र राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । साथै प्रहरी उच्च सतर्कता अपनाउँदै भुल्के गाउँ प्रवेश र आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा दिइरहेका छन् । यस्तै, संक्रमित १२ जनालाई अहिले प्रदेश १ को विराटनगरस्थित प्रादेशिक अस्पताल लगिएको छ भने उनीहरूसँग भौतिक निकटता कायम गरेका ४ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।
ती कोरोना संक्रमित १२ व्यक्तिसँग भौतिक सम्पर्क गरेकाहरूको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।