बैशाख ५ (हाकाहाकी)– म्यानमारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।
कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
म्यानमारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभिन्न जेलमा रहेका २४ हजार ८ सय ९६ जनालाई रिहा गर्न आदेश दिइएको उल्लेख छ । विज्ञप्तिमा आममाफी पाएका ८७ जना विदेशी नागरिकलाई उनीहरुकै देश फिर्ता गरिने जनाइएको छ ।
कैदीबन्दीको रिहाई तत्कालै शुरु हुने कारागार विभागका एक जना वरिष्ट अधिकारीले एएफपीलाई बताउनुभयो ।
म्यानमारका जेलमा अहिले झण्डै एक लाख कैदीबन्दी छन् । एचआरडब्लुका अनुसार म्यान्मारका जेलको क्षमता करिब ६२ हजार मात्र छ ।