बैशाख ४ (हाकाहाकी)– अमेरिकामा राज्यकोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रिन्ट गरिने भएको छ ।
अमेरिकी इतिहासमै पहिलो पटक संघीय सरकारले प्रदान गर्ने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाम उल्लेख हुन लागेको खबरहरुमा उल्लेख छ ।
कोरोना भाइरसको कारण रोजगारी गुमेका लगायतका आर्थिक समस्यासँग जुधिरहेका दशौँ लाख अमेरिकीलाई सरकारी कोषबाट सहयोग रकम प्रदान गर्न लागिएको छ ।
गएको महिना मात्रै त्यहाँ एक करोड ६० लाख मानिसले जागिर गुमाएका छन् ।
चेकमा राष्ट्रपतिको नाम छाप्न लागेकाले सहयोग हस्तान्तरणमा ढिलाई भएको टिप्पणी भइरहेका बेला वित्त अधिकारीहरुले भने यो अभियोग अस्वीकार गरेका छन् ।
गएको मार्चमा अमेरिकी संसदले कोरोना भाइरसबाट प्रभावित क्षेत्र तथा व्यक्तिहरुका लागि दुई ट्रिलियन डलर बराबरको आर्थिक सहायता प्याकेज ल्याएको थियो ।
आफ्नो नाम चेकमा राख्ने निर्णयका कारण कुनै कुरा ढिला नभएको दाबी पनि राष्ट्रपति ट्रम्पको थियो ।
राष्ट्रपति निर्वाचन हुनुभन्दा सात महिना पहिले ८ करोडभन्दा बढी अमेरिकीले ट्रम्पको नाम छापिएको चेकमा सरकारी कोषबाट १२ सय डलर पाउने भएका हुन् ।
अमेरिकी खबरपत्रिका वासिङ्गटन पोस्टले भने चेकमा ट्रम्पको नाम उल्लेख गर्न खोजिएकै कारण सहयोग वितरणमा ढिलाई भएको खबर प्रकाशित गरेको थियो ।