बैशाख ४ (हाकाहाकी)–कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) अवस्था सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज ७ प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा ११ को नियमित भर्ना साउन–भदौ महिनामा हुँदै आएकामा तत्काल एसइई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझावहरु प्राप्त भएको छ ।
अनौपचारिक छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्याङ्कनलाई आधारमा मानेर ग्रेड दिन सकिने सुझावहरु दिइएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।
कतिपय प्रदेशका मन्त्रीले सम्बन्धित विद्यालयमै प्रश्नपत्र पठाएर वा पूर्व निर्धा्रित परीक्षा केन्द्रलाई फेरी वितरण गरी डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले भने अहिले आफ्नो प्रदेशमा कोरोना भाइरसको जोखिम बढिरहेकाले परीक्षाबारे तत्काल सोच्न नसकिने बताउनुभयो ।