Friday, November 15, 2024

विदेशमा अलपत्र परेकालाई उद्दार गरः सर्वोच्च

बैशाख ४ (हाकाहाकी)– कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा खान बस्न समस्या भएका र रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्दार गरी ल्याउन आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुईंटेलसहित तीन अधिवक्ताले हिजो दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले नागरिकको गुहारलाई राज्यले यत्तिकै हेरेर बस्न नमिल्ने उल्लेख गरेको छ ।

सुक्ष्म तथा संवेदनशील तरिकाले बिना भेदभाव विना स्वेच्छाचार, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने र उद्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले कूटनीतिक माध्यमबाट नागरिकको अवस्था तत्काल बुझ्न र त्यसको प्रतिवेदन तयार गर्न समेत भनेको छ ।

अहिले भारतसहित विभिन्न देशमा ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार