बैशाख ३ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई अमेरिकाले आर्थिक सहयोग नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि विश्वभरबाट ट्रम्प निर्णयको विरोध भएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको विषयमा डब्लूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाउनुभएको थियो ।
यसबीचमा, चीनले अमेरिकी निर्णयको आलोचना गरेको छ । चीनले आज अमेरिकी निर्णयले अमेरिका आफैंलाई र विश्वका हरेक देशलाई प्रभाव पार्ने बताएको सिन्ह्वाले समाचार संस्थाले जनाएको छ ।
अमेरिकी निर्णय अमेरिकासहित विश्वका सबै देशका लागि हानिकारक रहेको चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताउनुभएको सिन्ह्वाले जनाएको छ ।
प्रवक्ता झाओले यो क्रममा अमेरिकाले सहयोग रोकेपनि चीनले जहिल्यै डब्लूएचओलाई सहयोग गरिरहने जानकारी दिनुभएको छ । चीन अगाडि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेस र अमेरिकी धनाढ्य तथा समाजसेवी बिल गेट्सले ट्रम्पको निर्णयको विरोध गर्नुभएको थियो ।