बैशाख ३ (हाकाहाकी)– अध्ययनको सिलसिलामा बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
उनीहरुले बंगलादेशस्थित नेपाली राजदूतलाई पत्र लेख्दै पछिल्लो समय बंगलादेशमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको हुँदा आफूहरुले असुरक्षित महशुस गरिरहेको बताएका छन् ।
कलेजको होस्टेलभित्र त्रासपूर्ण वातावरणमा आफूहरुको मनोबल कमजोर बन्दै गएको उनीहरुको भनाइ छ ।
नेपाली राजदूतावासका अनुसार अध्ययनका लागि बंगलादेशमा रहेका करिब ६५० जना नेपाली विद्यार्थीहरु होस्टेलमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।
राजदूतावासले दिएको निर्देशन पालना गरिरहेको पनि विद्यार्थीहरुले बताएका छन् ।
होस्टलमा बस्दा सामाजिक दूरी कायम गर्न कठिनाई भइरहेको उनीहरुको भनाइ छ । सरकारले चार्टर विमानको व्यवस्था गरिदिए खर्च आफै व्यहोर्ने उनीहरुले बताएका छन् ।
नेपाली विद्यार्थीले हिजो नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बोधार्थसहित ढाकास्थित नेपाली दूतावासलाई उद्धारका लागि पत्र बुझाएका हुन् ।