बैशाख २ (हाकाहाकी)– भारतमा लकडाउन लम्बिएको छ ।
गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गर्नुभएको हो ।
२५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन आज देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यही मात्रै अन्तिम विकल्प भएको बताउनुभएको छ।
पछिल्लो २६ दिनमा देशवासीका नाममा मोदीको यो चौथो सम्बोधन हो।
भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन्।
यसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु छन्।
केन्द्र शासित प्रदेश पुडुचेरीले पनि लकडाउन बढाउने घोषणा गरिसकेको छ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ।
भारतमा हालसम्म १० हजार ४ सय ५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन्।