Saturday, November 16, 2024

दक्षिण सिमामा थप कडाई गर्ने सरकारी तयारी

बैशाख २ (हाकाहाकी)– सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ ।

मन्त्रिपरिषदको आजको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको हो ।
लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको हो ।

एक मन्त्रीका अनुसार भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द नै राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको छ ।

सीमा नाकाबाट लुकिछिपी कसैलाई पनि आवतजावत गर्न नदिन विशेष सतर्कता अपनाइएको र त्यसमा थप शक्ति केन्द्रित गरिने ती मन्त्रीले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकमा काठमाडौंबाट राति राति हिँडेर विभिन्न गन्तव्यमा गइरहेकाहरुको बारेमा पनि छलफल भएको थियो ।
अब त्यसमा पनि सरकारले कडाइ गर्ने भएको छ ।
जो जहाँ पुगेका छन् उनीहरुलाई स्थानीय तहमार्फत खाने बस्ने व्यवस्था गर्ने र अरुलाई निस्कन नदिने रणनीति सरकारले बनाएको छ ।

हिँडेर घर जानेमा खानै नपाएका र लकडाउन लम्बिन्छ भनेर आत्तिएका दुवैखाले मान्छे रहेको सरकारको विश्लेषण छ ।
मन्त्रिपरिषदमा विभिन्न विकास परियोजनामा कार्यरत श्रमिकहरुलाई सुरक्षित ढंगले काममा लगाउने र त्यस्ता परियोजनाहरु चालु राख्ने बारेमा छलफल भएको छ ।
त्यसो गर्दा विकास आयोजना सञ्चालन पनि हुने र मजदुरको व्यवस्थापन पनि हुने सरकारको विश्लेषण छ ।

ताजा समाचार

सम्बन्धित समाचार