बैशाख २ (हाकाहाकी)– थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुर पाटन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सक्रमित दुई जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा, दुई जनाको बागलुङमा, चार जनाको वीरगञ्जको नारायणी अस्पतालमा र पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै एक जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच, क्वरेन्टीनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सक्रमित नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९ को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा यस्तो व्यवस्था गरिएको हो ।
मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताउनुभयो ।
निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि ¥यापिड टेस्टबाट परीक्षण गर्ने उल्लेख छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र ¥यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको बताउनुभएको छ ।