बैशाख १ (हाकाहाकी)– कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दिको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।
इ–पास लिनका लागि भउबकक।mयजब।नयख।लउमा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।
यो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरु गरेको जानकारी दिनुभयो । यो प्रणाली मंगलबारदेखि सुरु हुनेछ ।
मन्त्री थापाले फारम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।