चैत ३० (हाकाहाकी)– कोरोना भाइरसको महामारीको प्रभाव खेलाडीहरुको ट्रान्सफर बजारमा पनि परेको छ । युरोपमा चर्चित क्लबका महंगा खेलाडीहरुको मूल्यमा भारी गिरावट आउन सक्ने देखिएको छ ।
इंग्लीश प्रिमियर क्लब चेल्सीले आफ्ना स्टार खेलाडी एन्गोलो कान्टेलाई बेच्न तयार भएको जनाएको छ । तर यसका लागि उचित प्रस्ताव र मुल्य पाउनुपर्ने क्लबको भनाई छ ।
कुनै समय सय मिलियन पाउण्डको हाराहारीमा मोलमोलाई हुने कान्टेको मुल्यमा अहिले २० प्रतिशतसम्म गिरावट आएको स्रोतले बताएको छ ।
कान्टेमाथि स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नजर लगाइरहेका छन् ।
उता अर्को इंग्लीश क्लब आर्सनलका स्ट्राईकर पिएरे एमरिक औबामायङ्गले पनि क्लब छाड्ने आशय व्यक्त गरेका छन् । आर्सनलको लगातार खस्कदो प्रदर्शनका कारण आफु अन्य ठुला क्लबहरुमा जान इच्छुक रहेको औबामायङ्गको भनाई छ ।
गाबोनका स्ट्राईकर औबामायङ्गले आर्सनलका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यसैबीच , विश्वभर फुटबल खेलहरु रोकिएपछि बढी खर्च गर्ने ठूला क्लबहरु मारमा परेका छन् ।
चर्चित र महंगा खेलाडीहरुलाई नियमित तलब खुवाउन जगेडामा रहेका खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा उनीहरु पुगेका छन् ।