चैत २९ (हाकाहाकी)– लकडाउनमा काठमाडौं महानगरले सडकका कुकुर, छाडा चौपाया, बाँदर र अन्य चराचुरुङ्गीहरूलाई आहाराको व्यवस्था गर्दै आएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी आहारा दिएको हो ।
आहारा अन्तर्गत चना, केरा, पाउरोटी बिस्कुट तथा गेडागुडी लगायतका खानेकुरा दिइएको थियो ।
आहारा दिने टोलीमा महानगर प्रमुख शाक्यसहित प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उपरीक्षक भीमप्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटा लगायत हुनुहुन्थ्यो ।
टोली ती तीन ठाउँमै पुग्दा सम्बन्धित वडाका वडाध्यक्ष पनि सहभागी भएका थिए।
४३ औं नगर कार्यपालिकाको बैठकले पशुचौपाया, बाँदर र अन्य चराचुरुङ्गीलाई आहारको व्यवस्था गरी उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने निर्णय गरेको हुनाले आहारको व्यवस्था गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।
यसैगरी महानगरले चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बाँदर केही पनि भोकले नमरून् भनेर वडा–वडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएको पनि प्रमुख शाक्यले बताउनुभयो ।